Thursday, March 6, 2014

पीडाबोधको आनन्द

पीडाबोधको आनन्द
कस्तो हुन्छ भनी
अनि कसले लिन सक्छ भनि कसैले सोधेमा
कुनै आम नेपालीको नाम लिनु

महँगीको मारमा थिचिंदा पनि
ट्राफिक जाममा पर्दा पनि
उपत्यका, जिल्ला, अंचल, राजमार्ग, नेपाल बन्द हुँदा पनि
तेलको लाइनमा बस्दा पनि
एमआरपी को लाइनमा बस्दा पनि
ऊ हाँसेकै हुन्छ
भोक लागे चाउचाउ खान्छ
अलि रिस उठे हर्न बजाउँछ
अनि
सँगै रहेको अर्को नेपालीको अनुहार हेरी
यस्तै हो हाम्रो देश भनि
ऊ मुस्कुराउँछ

फुटपाथमा पसलेले हिड्न गाह्रो बनाएपछि
ऊ सडकमा हिडिरहेको हुन्छ
सडकमा जतिसुकै खाल्डा-खुल्डी भएपनि
बचाई बचाई बाइक गाडी चलाएकै हुन्छ
बाइक गाडी नभए
कोचिएर झुन्डिएर भए पनि यात्रा गरेकै हुन्छ
अनि घर पुग्दा
बिजुली नभएर
सके इन्वर्टर, नभए चाईनिज टुकी
त्यो पनि नभए
मैनबत्ती बालि ऊ मुस्कुराएकै हुन्छ
जलश्रोतको धनी देश भनि
ऊ मुस्कुराएकै हुन्छ

ट्राफिक लाइट नभई
ट्राफिक को इसारामा चली रहेको हुन्छ
सरकार नै नभई
काम चलाउ सरकार उसले झेली रहेको हुन्छ
देशले केहि निकास पाएछ कि भनि
टिवी, नभए रेडियो
त्यो पनि नभए पत्रिका
ऊ हेरिरहेको हुन्छ
पीडाबोधमा ऊ बाँचिरहेको हुन्छ
तर पनि
नेपाली हुनुको आनन्दमा
पीडा सँगै हाँस्दै
मुस्कुराउँदै
पीडाबोधमा पनि
आनन्द उठाई रहेकै हुन्छ