Saturday, September 28, 2013

खुशी बिक्रीमा

आज बिहान टि.भी. हेर्दा कोका-कोलाको बिज्ञापनले ध्यान खिच्यो | खुशी बाँडे, खुशी बढ्छ; हामीले सानैदेखि सुन्दै आको कुरा, दुख बाँडे घट्छ संगै | कुरो एकदम ठीक छ तर आज चाँडै उठेको असर हो या शुक्रबार राति नभएको सरकारलाई कर तिरेको असर - यो बिज्ञापनलाई अर्कै नजर (कुटिल भनौं की रुखो, तपाईहरुको जिम्मा) बाट हेर्न मन लाग्यो |

खुशीलाई कोकसँग जोडिएको छ (धन्यबाद दिनुस् मलाई तपाईहरुलाई यो ज्ञान दिएकोमा :D) तर कुरो कहाँ खट्कियो भने खुशी किन्न त २५ (कतै ३० पनि लिन्छन्) रुपियाँ पो खर्च गर्नु पर्यो त | हैन, खुशी पनि किन्न सकिन्छ र | खुशी त देन हो, अमुल्य; साना-साना कुराहरुसँग जोडिएको | यसरी मानव जीवनको एउटा मुख्य अनुभूतिलाई एउटा निर्जिब बस्तुसंग जोडिएको देख्दा मनमा एक किसिमको खल्लोपन जाग्यो - कतै हाम्रो समाजको प्रतिबिम्ब त हैन यो ? मानवीय भावना मानवसँग हैन निर्जिबतासँग जोडिएको छ |  यो बिषयमा धेरै कुरा भएका छन्, लेखिएका छन् | तर, साच्चीकै खुशी किन्न पाइने भए के हुन्थ्यो ?  फेरी नेपालकै ताल हुन्थ्यो - धनीहरु सधै खुशी हुन्थे अनि गरिबहरु सधै दुखि | यो देश साच्चिकै बिडम्बनाले भरिएको हो त ? 

(गद्य लेखनमा पहिलो प्रयास)

Sunday, September 8, 2013

sinex ra cetrizen

सकिन तिम्रो मायाबाट बच्न 
अनेकौं प्रयत्न गरें 
भाग्दै, लुक्दै हिडें /
रङ विरंगी पानी खाएँ
बाहिरी लेपले मात्र हुदैन भनेर भित्री लेप पनि लगाएँ /
धामी झाँक्री कहाँ गईन 
तर भाले चाहीँ काटेर खाएँ 
र अन्त्यमा अंगाली हालेउ
मायाले लुत्रुक्क बनाई छोडेउ /
अब मेरी पियारी कसरी भनौं
चाँडै छोड-पत्र देउ 
रुघा, खोकी र टाउको दुखाई //